आइतबार, २८ पुष २०८१
Search
Close this search box.

आशा जगाउने बजेट : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले देशमा नयाँ आशा र विश्वास जगाउने बताएका छन्। पोस्ट-बजेट अन्तर्क्रियामा उनले बजेटले वर्तमान आर्थिक चुनौतीहरूको समाधान खोज्ने प्रयास गरेको स्पष्ट पारे।

पुनले भने, “बजेट सार्वजनिक हुनु अघि विभिन्न दबाबमा थियौं तर अहिले हामीले सन्तुलित प्रतिक्रिया पाएका छौं। यसले हामीलाई खुसी र आशावादी बनाएको छ।”

उनले बजेटले युवाहरूलाई देशभित्रै अवसर खोज्न प्रेरित गरेको र अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेको बताए। “हामीले युवाहरूलाई देशभित्रै अवसर खोज्न प्रेरित गरेका छौं। अर्थतन्त्रको संरचनामा सुधार ल्याउने हाम्रो कोसिस हो,” उनले भने।

पुनले निजी क्षेत्रसँग सहकार्य गरेर देशको आर्थिक विकासलाई अघि बढाउने योजना रहेको बताए। “निजी क्षेत्रको सहयोग बिना ठूला पूर्वाधार परियोजनाहरू पूरा गर्न सकिँदैन। त्यसैले हामीले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता महसुस गरेका छौं,” उनले भने।

उनका अनुसार विभिन्न प्रदेशहरूको विशेषतालाई ध्यानमा राखी त्यहाँका उत्पादनहरूलाई हब बनाउने प्रयास भइरहेको छ। “चितवन, पोखरा, र लुम्बिनी क्षेत्रहरू आर्थिक गतिविधिका लागि निकै महत्वपूर्ण छन्। यहाँ सरकारले आवश्यक पूर्वाधार निर्माण गरी आर्थिक गतिविधिहरूलाई गति दिनेछ,” पुनले भने।

अन्तमा, पुनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिएको र स–साना सुधारहरूबाट ठूलो परिवर्तन ल्याउने प्रयास भइरहेको बताए।

error: Content is protected !!