अष्ट्रेलियाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर डेभिड वार्नरले अन्तरराष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। अमेरिका र वेष्ट इण्डिजमा चलिरहेको आईसीसी टी-२० विश्वकपबाट अष्ट्रेलिया बाहिरिएपछि ३७ वर्षीय वार्नरले संन्यासको घोषणा गरेका हुन्।
भारतसँग पराजित भए पनि सेमिफाइनल पुग्ने अपेक्षामा रहेको अष्ट्रेलिया बंगलादेश-अफगानिस्तान खेलमा बंगलादेश पराजित भएपछि टी–२० विश्वकपबाट बाहिरिएको हो।
वार्नरले सन् २०११ मा न्युजिल्याण्डविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। अष्ट्रेलियाको प्रतिनिधित्व गर्दै वार्नरले ११२ टेस्ट खेलेर ८ हजार ७८६ रन बनाएका छन्। उनले ३ वटा दोहोरो शतक प्रहार गरेका छन् र टेस्ट फर्म्याटमा २६ शतक हान्न सफल भएका छन्। टेस्ट म्याचमा उनले ३७ अर्धशतक पनि बनाएका छन्।
वार्नरले एकदिवसीय र टी–२० क्रिकेटमा पनि आफूलाई सफल खेलाडीको रूपमा उभ्याएका छन्। टी-२० फर्म्याटमा १० हजार रनको कोसेढुंगा पार गर्ने उनी चौथो खेलाडी हुन्। वार्नरको नाममा ४९ अन्तरराष्ट्रिय शतक रहेका छन्।
वार्नर आईपीएलका सबैभन्दा सफल ब्याट्सम्यान पनि हुन्। उनको कप्तानीमा सनराइजर्स हैदरावादले सन् २०१६ को आईपीएलको उपाधि उचालेको थियो।