न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ३४ आरोपमा दोषी ठहर गरेको छ। दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्याएको हो, सीएनएनले जनाएको छ।
यो अमेरिकाको इतिहासमा पहिलो पटक हो, जब कुनै पूर्व राष्ट्रपति विरुद्ध आपराधिक अभियोग लाग्यो। ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्सलाई चुप राख्न अनधिकृत रूपमा रकम दिएको आरोप थियो। यसका साथै, ट्रम्पले आफ्नो व्यवसायिक रेकर्डमा हेरफेर गरेको र राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको आरोपहरू पनि थिए।
अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन्। ट्रम्पले भने आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन्। कोर्ट रुमबाट बाहिरिंदै उनले आफू निर्दोष रहेको र अन्तिमसम्म लड्ने र जित्ने दाबी गरे।
१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ, जसले पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रूपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी गरिरहेको छ।