सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

देशभर वर्षा जारी: नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम

देशका विभिन्न जिल्लामा निरन्तर पानी परिरहेको छ। लगातारको झरीसँगै महाकाली, बबई, नारायणी, कोशी लगायतका नदीमा जलसतहले सर्तकता तह पार गरेको छ। डडेलधुरा, बर्दिया, बाँके, स्याङ्जा, चितवन, धनकुटा, सुनसरीसहित विभिन्न जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पाल्पा, पर्वत, दाङ, नवलपरासीलगायतका जिल्लामा पनि ठूलो पानी परिरहेको छ।

मौसमविद्हरूले जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेका छन्। गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको थियो। नदी तथा खोलाखहरेमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न ठाउँमा झरी कायमै रहने जनाएको छ। यससँगै महाकाली, बबई, नारायणी र कोशी नदीमा जलसतहले सर्तकता तह पार गरेको बताइएको छ। यसअघि, लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको थियो।

लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ। सडक तथा यातायात व्यवस्था पनि अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्ग, विपी राजमार्ग, कर्णाली राजमार्गसहित हेटौँडा–काठमाण्डौ सडकखण्ड, कान्ति राजपथको ललितपुर खण्ड, लमजुङको बेशीसहर चामे सडक, घोराही–तुलसीपुर सडक अवरुद्ध छन्।

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा गाडी चलाउन रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (बनबासा पुल) मा ठूला चारपाङ्ग्रे गाडी चलाउन रोक लगाइएको छ। साना गाडी र पैदलयात्रुलाई ओहोरदोहोर गर्न दिइएको इलाका प्रहरी कार्यालय गड्डाचौकी कञ्चनपुरले जनाएको छ। आज बिहान ७ बजे महाकाली नदीमा पानीको बहाव एक लाख ६४ हजार छ सय ६० क्युसेक मापन गरिएको छ।

बनबासा पुलमा ठूला गाडी चलाउन रोक लगाएपछि पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल–भारत आवतजावत गर्ने यात्रु मर्कामा परेका छन्।

हिमाली जिल्ला मुगुमा वर्षाका कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला मुगुमा वर्षाका कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। यस कारण जुम्ला र हुम्लामा उडान ठप्प छ भने विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका छन्।

आज पनि मौसमका कारण उडान हुने सम्भावना न्यून छ भने मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिएका छन्।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन–चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन्।

तराईमा बाढी: वीरगन्ज, देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा

लगातारको पानी परेपछि तराईका विभिन्न क्षेत्र बाढीले डुबानमा परेका छन्। पर्साको वीरगन्ज, दाङको देउखुरीसहित विभिन्न क्षेत्र डुबानमा परेका हुन्। वीरगन्ज महानगरका छपकैया, बजार छपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायतका ठाउँ डुबानमा परेका छन्। पानीलाई निकास दिन उपकरणसहित कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरको सरसफाई शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिएका छन्।

कोशी र मधेस, लुम्बिनीसहित नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्। लगातारको झरीले काठमाण्डौ उपत्यकाका सबै नदी र खोलामा बाढी आएको छ। बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा लगायतका खोलानदीमा बाढी आएको हो।

error: Content is protected !!