साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरुको ठूलो भीड लागेको छ। साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज पशुपतिनाथ दर्शनका लागि व्रतालु तथा श्रद्धालुको भीड लागेको हो। यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ।
नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ। पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनहरुको भीड लाग्छ। आज देशभरका शिवालयहरुमा पनि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।
व्रतालु भक्तजनहरुले भगवान् शिवको आराधना गर्दै आफ्नो मनोकामना पूर्ण होस् भन्ने कामना गरेका छन्। पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनहरुले पूजा, अभिषेक, रुद्राभिषेक, रुद्राक्ष धारण लगायतका धार्मिक क्रियाकलापमा सहभागिता जनाएका छन्। मन्दिर परिसरमा भक्तजनहरुको भीड व्यवस्थापन गर्न सुरक्षा तथा सेवा सुविधामा ध्यान दिइएको छ।