आज सरकार आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने हुन्छ। बजेट वक्तव्यका लागि दिउँसो एक बजे प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरिएको छ। अर्थमन्त्री वर्षमान पुनले करिब साढे १९ खर्ब रुपैयाँको बजेट पेस गर्ने तयारी गरेका छन्।
राष्ट्रिय योजना आयोगले यसअघि सरकारलाई १८ खर्बको सीमामा रहेर बजेट ल्याउन सुझाव दिएको थियो। तर, सरकारले चालु आर्थिक वर्षभन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
सुरुमा ठूलो आकारको बजेट ल्याए पनि स्रोत जुटाउन र खर्च गर्न नसकेपछि सरकारले समीक्षामार्फत् बजेट घटाउँदै आएको छ। यस पटक करका दरभन्दा पनि दायरा बढाउने भनिए पनि विशेष कार्यक्रमको सम्भावना कम छ। विद्युतीय गाडी र महँगो मूल्यका अन्य गाडीमा भने केही कर बढाउने तयारी छ।
राजस्वका थप क्षेत्र पहिचान गरी दायरा विस्तार गर्ने सरकारको योजना छ। सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको ‘कृषिमा लगानी दशक’ कार्यक्रम कार्यान्वयन गर्न बजेट केन्द्रित हुने अपेक्षा छ। साथै, सूचना प्रविधिको विकास, नयाँ रोजगारी सिर्जना, मिटर व्याज, लघुवित्त र सहकारीका समस्या समाधान तथा जलवायु अनुकूलन क्षमता बढाउने कार्यक्रमलाई पनि ध्यानमा राखेर नयाँ बजेट ल्याइनेछ।
यस पटकको बजेटले देशको आर्थिक अवस्था सुधार गर्न, रोजगारी सिर्जना गर्न र कृषि, सूचना प्रविधि तथा जलवायु अनुकूलन क्षेत्रमा विशेष ध्यान दिनेछ।