काभा महिला भलिबल लिगको आजको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै आफ्नो पहिलो जीत हात पारेको छ। काठमाण्डौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सेटमा हरायो।
श्रीलङ्काले पहिलो सेट २५-२२, दोस्रो सेट २५-१२, र तेस्रो सेट २५-१६ को सहज जित निकाल्दै माल्दिभ्सलाई पराजित गर्यो। माल्दिभ्सको यो लगातार तेस्रो पराजय हो, जसका कारण उनीहरू प्रतियोगिताबाट बाहिरिएका छन्।
माल्दिभ्स बाहिरिएसँगै सेमिफाइनलमा पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ। नेपाल, भारत, श्रीलङ्का, र इरान सेमिफाइनलमा प्रवेश गरेका छन्। लिगको अन्तिम चारमा शीर्ष र चौथो स्थान तथा दोस्रो र तेस्रो स्थानमा रहेका टोलीहरूबीच सेमिफाइनल खेल हुनेछ।
आजको अर्को खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राखेपको कभर्डहलमा बेलुकी सवा ५ बजेदेखि सुरु हुनेछ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा हराएको थियो भने दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै ऐतिहासिक जीत हासिल गरेको थियो। यो नेपालले महिला भलिबलको इतिहासमा पहिलो पटक भारतलाई हराएको हो।