गएरातिदेखि देशका पूर्वी क्षेत्रमा ठूलो पानी परेको छ। अहिले पनि कोशी, मधेश, बाग्मती, र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेषगरी धनुषा, सर्लाही, झापा, मोरङ, सुनसरी, र सिन्धुलीमा गएराति र बिहानपख ठूलो पानी परेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभएको छ। पछिल्लो २४ घण्टामा सुनसरीको धरानमा सबैभन्दा धेरै १५१.२ मिलिमिटर वर्षा भएको छ। यस्तै, मोरङको केराबारीमा १३८.४ मिलिमिटर र सर्लाहीमा १४१ मिलिमिटर पानी परेको छ।
यसैबीच, काठमाण्डौ उपत्यकामा पनि केही ठाउँमा बिहान हल्का पानी परेको छ। दिउँसो फेरि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने मनसुनी गतिविधि कम हुँदै गएकोले त्यहाँ पानी परेको छैन।
आगामी केही दिन कोशी प्रदेश लगायत देशका पूर्वी भागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। अरु क्षेत्रमा भने मनसुनी गतिविधि विस्तारै कम हुँदै जाने जनाइएको छ। स्थानीय बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।