नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा आजदेखि नाडा अटो शोको शुभारम्भ गरेको छ। उक्त शोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका छन्।
१६ भदौसम्म सञ्चालन हुने यो अटो शोमा ५५ विभिन्न ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिएका छन्। नाडा अटो शोका संयोजक अनुपकुमार बरालका अनुसार, प्रदर्शनीमा २४ ब्रान्डका चारपांग्रे गाडीहरू, १९ ब्रान्डका दुई–पांग्रे गाडीहरू, र १२ ब्रान्डका हल्का व्यावसायिक गाडीहरू राखिएका छन्।
यस अटो शोमा लुब्रिकेन्ट, टायर, ब्याट्री, र ग्यारेज उपकरण जस्ता सामग्रीहरू प्रदर्शनीमा राख्न ३३ कम्पनीहरूले सहभागिता जनाएका छन्। साथै, ७ वित्तीय संस्थाहरूका स्टलहरू पनि अटो शोमा समावेश गरिएको छ। नाडाका अनुसार, सम्पूर्ण प्रदर्शनीमा १३० वटा स्टलहरू रहेका छन्।