नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाउने निर्णय गरेको हो।
यो मूल्य घटेसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको नयाँ मूल्य काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५२, सुर्खेत र दाङमा १५१, र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा १४९ रुपैयाँ कायम भएको छ।