आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ।
काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ। दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही ठाउँहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बाग्मती प्रदेशका एक-दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
स्थानीय बासिन्दाहरूलाई मौसमको अवस्थालाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।