निर्वाचनका लागि १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना, योग्यता, मिति र सुविधासहितको विवरण

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी आवश्यक पर्ने जनाएको छ।
दरखास्त दिने मिति र स्थान
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले पुस २५ गतेदेखि माघ १ गतेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमा गएर दरखास्त फारम बुझाउन सक्नेछन्।
उमेर र न्यूनतम योग्यता
दरखास्त दिने अन्तिम मितिसम्म:
- १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको
- नेपाली नागरिक
- साधारण लेखपढ गर्न जान्ने
- कुनै फौजदारी अभियोगमा सजाय नपाएको
- कुनै राजनीतिक दलको सदस्य नभएको
- शारीरिक तथा मानसिक रूपमा स्वस्थ
- आतङ्ककारी वा विध्वंसात्मक समूहसँग सम्बन्ध नभएको
व्यक्तिहरूले म्यादी प्रहरीका लागि आवेदन दिन सक्नेछन्।
प्राथमिकतामा कसलाई छनोट गरिने ?
नेपाल प्रहरीका अनुसार निम्न व्यक्तिहरूलाई निर्वाचन प्रहरी छनोटमा प्राथमिकता दिइनेछ:
- नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलबाट सेवा निवृत्त पूर्वसुरक्षाकर्मी
- पूर्व वनरक्षक
- अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरी सन्तोषजनक कार्यसम्पादन गरेका व्यक्ति
- विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी निवृत्त भएका नेपाली नागरिक
- पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्ना प्रक्रियामा शारीरिक तथा स्वास्थ्य परीक्षण उत्तीर्ण गरिसकेका व्यक्ति
छनोट प्रक्रिया र तालिम
- प्रारम्भिक छनोट: माघ ५ गतेदेखि ९ गतेसम्म
- अन्तिम नतिजा प्रकाशन: माघ १२ गते
- तालिम तथा प्रशिक्षण: माघ १५ गतेदेखि २४ गतेसम्म
कार्यअवधि कति हुनेछ ?
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिबाट ४० दिनको हुनेछ। निर्वाचनको अवधि अनुसार सरकारले आवश्यक ठानेमा कार्यअवधि घटबढ हुन सक्नेछ।

निर्वाचन प्रहरीले कति तलब र सुविधा पाउनेछन् ?
निर्वाचनमा खटिने म्यादी प्रहरीले नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल बराबर सुविधा पाउनेछन्।
तलब
- प्रतिदिन रु. ८६९.४०
- ४० दिनको कुल तलब: रु. ३४,७७६
खाद्यान्न खर्च
- सम्बन्धित जिल्लाको नेपाल प्रहरीले लागू गरेको दररेटअनुसार
- ४० दिनको खाद्यान्न रकम सिधै व्यक्तिगत बैंक खातामा जम्मा
तयारी खर्च
- निर्वाचनमा खटिनुअघि एक पटकका लागि रु. ८४६ तयारी खर्च
खाजा खर्च
- प्रतिदिन रु. ३००
- ४ दिनका लागि एकमुष्ट रु. १,२००
पोसाक सुविधा
- नेपाल प्रहरी प्रधान कार्यालयले तोकेको दररेटअनुसार पोसाक खर्च पनि उपलब्ध गराइनेछ।
बीमा तथा क्षतिपूर्ति
कर्तव्य पालनका क्रममा:
- घाइते भएमा स्वयंले
- मृत्यु भएमा नजिकको हकदारले
नेपाल सरकारबाट तोकिएअनुसार क्षतिपूर्ति प्राप्त गर्ने व्यवस्था गरिएको छ।
कानुनी आधार
सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ, जसअनुसार यो भर्ना प्रक्रिया सञ्चालन हुनेछ।