आइतबार, ०७ पुष २०८१
Search
Close this search box.

राष्ट्रपति पौडेलको सम्मानमा बर्लिनमा विशेष स्वागत समारोह

मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा आइतबार वर्लिनस्थित नेपाली राजदूतावासले विशेष स्वागत समारोह आयोजना गर्यो। उक्त कार्यक्रममा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र त्यहाँस्थित नेपालीहरूको सहभागिता थियो।

राष्ट्रपति पौडेलले कार्यक्रममा सम्बोधन गर्दै संसारभर रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गर्नुभयो। उहाँले जहाँ रहे पनि आफ्नो ज्ञान, सीप र प्रविधिको प्रयोग गरी नेपालको आर्थिक विकासमा योगदान पुर्याउन सबैलाई हार्दिक आह्वान गर्नुभयो।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको बताउनुभयो। साथै, जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न र यसका कारक नरहेका विकासशील देशहरूलाई सहयोग गर्न विकसित देशहरूले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।

समारोहमा राष्ट्रपति पौडेललाई जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले स्वागत गर्नुभयो। राजदूत खड्काले जर्मन-नेपाल सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराउनुभयो। साथै, जर्मनीमा रहेका नेपालीहरूको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्याबारे समेत जानकारी दिनुभयो।

यसअघि, राष्ट्रपति पौडेलले जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आएका संस्थाहरूको अवलोकन गर्नुभएको थियो।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुग्नुभएको हो। सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति डा. फ्राङ्क वाल्टर स्टाइनमेयरबीच भेटवार्ता हुने कार्यक्रम रहेको छ।

error: Content is protected !!