निरन्तरको वर्षासँगै खोलामा आएको बाढीले विराटनगरका तटीय बस्तीहरू डुबानमा परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार संघीया र केसलीया खोलाको बाढीले बस्तीमा क्षति पुर्याएको छ।
विराटनगर महानगरपालिका-६ का अध्यक्ष हरिशचन्द्र सहनीले जानकारी दिएअनुसार खोला आसपासका करिब ५ सय घर डुबानमा परेका छन्। उनका अनुसार वडाका अन्य क्षेत्रहरू पनि डुबानमा परेका छन्। वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले केसलीया खोलाको बाढीले ६० भन्दा बढी घर डुबाएको बताए।
स्थानीय प्रशासनले पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरेको छ। मंगलबार रातिदेखि परेको पानी नरोकिएकाले विराटनगरका विद्यालयहरू बिदा गरिएका छन्। महानगरले अवस्था अनुसार निर्णय गर्न निर्देशन दिएपछि अधिकांश विद्यालय बिदा भएका हुन्। वर्षाका कारण सहिद रंगशाला विराटनगरमा जारी एसईई कपको खेल पनि रोकिएको छ।
विराटनगर महानगरका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिएअनुसार वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्रभावितलाई उद्धार गर्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको छ। विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको न्यौपानेले जानकारी दिए।