सुनबजारमा ‘ब्ल्याक सन्डे’: एकैदिन तोलामा १८,८०० ले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

आर्थिक डेस्क १८ माघ २०८२ (१ फेब्रुअरी २०२६)
नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन आज आइतबार अहिलेसम्मकै ठूलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेर नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ३ लाख रुपैयाँमा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढाव र डलरको विनिमय दरमा आएको परिवर्तनको प्रभाव नेपाली बजारमा सिधै देखिएको व्यवसायीहरूको विश्लेषण छ।
सुनसँगै चाँदीको मूल्यमा पनि ‘क्र्यास’ जस्तै स्थिति देखिएको छ। आज चाँदीको मूल्य तोलामा १ हजार ५६५ रुपैयाँले ओरालो लागेको छ। महासंघका अनुसार शुक्रबार प्रतितोला ७ हजार ६५ रुपैयाँमा किनबेच भएको चाँदी आज ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। लगनको महिना सुरु हुनै लाग्दा सुनचाँदीको मूल्यमा आएको यो अस्वाभाविक गिरावटले उपभोक्ताहरूलाई केही राहत दिए पनि लगानीकर्ताहरूमा भने निकै कौतूहल र त्रास पैदा गरेको छ।
नेपालहाम्रो न्युज डेस्क सुनचाँदीको मूल्यमा आएको यो भारी गिरावटको मुख्य प्राविधिक कारण र आगामी दिनको प्रक्षेपणबारे थप विश्लेषणका लागि हामीसँगै रहनुहोला।