विराटनगर, ३० मे २०२४ – सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ विराटनगरबाट भएको छ। कोसी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार मेलाको उद्घाटन गरे।
प्रधानमन्त्री प्रचण्डले मेलाको उद्घाटन गर्दै वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेका श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याएको बताए।
उद्घाटन समारोहमा प्रचण्डले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको पनि उल्लेख गरे।
रोजगार मेलामा विभिन्न उद्यमी, कम्पनी, र रोजगारदाता संस्थाहरूले आफ्नो उत्पादन र सेवाहरू प्रदर्शनीमा राखेका छन्। मेलामा सहभागीहरूले आफ्नो सीप र अनुभव प्रस्तुत गर्न र रोजगारीका अवसरहरूबारे जानकारी लिन पाउने छन्।
यो मेलाले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। मेलाले नेपाली युवाहरूलाई उद्यमशिलता र आत्मनिर्भरता तर्फ प्रोत्साहित गर्ने उद्देश्य राखेको छ।