सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं – कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका पूर्व अध्यक्ष सीबी लामा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा नजिकैबाट पक्राउ गरेको हो।

लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए। लामा अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष पनि हुन्। उनलाई कान्तिपुर सहकारीको ६ अर्ब र पशुपति सहकारीको २ अर्ब गरी ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।

लामा र उनका सहयोगीहरूले बचतकर्ता र सेयर सदस्यको साढे ६ अर्ब रुपैयाँ दुरुपयोग गरेर व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी, र रिसोर्टमा लगानी गरेको आरोप लागेको छ। कान्तिपुर सहकारीले काठमाडौंको विभिन्न स्थानमा १८ शाखा तथा सेवा केन्द्रहरू सञ्चालन गरेको थियो। सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड रुपैयाँ बचत रहेको छ भने सेयर पूँजी करिब ४० करोड रुपैयाँ छ।

सहकारीले ६ अर्ब २२ करोड रुपैयाँ ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ। यो ऋणको ठूलो हिस्सा लामासहित अन्य सञ्चालकहरूले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पताल, र कलेजमा खन्याएको पाइएको छ। सहकारी विभागमा पेस भएको विवरणमा ३२ स्थानमा घरजग्गा छ भने अन्य धेरै सम्पत्ति लुकाइएको छ।

पक्राउ परेका लामामाथि अनुसन्धान जारी रहेको छ र थप विवरण आउन बाँकी छ।

error: Content is protected !!