सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

आगामी तीन दिन भारी वर्षा: सतर्क रहन विभागको आग्रह

आज शुक्रबारदेखि आइतबारसम्म देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ। नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नजिक सरेको र यसले देशभर व्यापक प्रभाव पार्ने बताइएको छ।

असार १४ देखि १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुनसक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले बताएको छ।

विभागले विशेष बुलेटिन जारी गर्दै भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले पनि बुलेटिन जारी गर्दै कोशी, नारायणी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने बताएको छ। इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

नेपालमा मनसुन गत जेठ २८ गते भित्रिएको थियो। त्यसयता बाढी र पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको छ। आगामी दिनमा थप क्षति हुन नदिन सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ।

error: Content is protected !!