बुधबार, २७ जेठ २०८३
Search
Close this search box.

कोपा अमेरिका फुटबलमा विश्व च्याम्पियन अर्जेन्टिनालाई रोक्दै क्यानडा पहिलो पटक फाइनलमा स्थान बनाउने दाउमा रहेको छ। एउटै समूहका यी दुई टोलीबीच भोलि बिहान पौने ६ बजे मेटलाइफ स्टेडियममा खेल हुँदैछ।

पहिलो पटक कोपा अमेरिका खेलेको क्यानडा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। कतार विश्वकपको च्याम्पियन अर्जेन्टिना पनि इक्वेडरलाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

समूह चरणको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गरेको थियो। त्यसपछि सुधारिएको प्रदर्शन गर्दै क्यानडाले लयमा फर्किएको छ। समूह चरणमा पेरुलाई १-० ले हराएको क्यानडा चिलीसँग गोलरहित बराबरीमा रोकिएको थियो।

अर्जेन्टिनाले भने शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो। अर्जेन्टिनाले पेरुलाई २-० र चिलीलाई १-० ले पराजित गरेको थियो। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी चोटग्रस्त हुँदा लयमा छैनन्। उनले इक्वेडरसँगको खेलमा पेनाल्टी मिस गरेका थिए र जारी प्रतियोगितामा एक गोल पनि गर्न सकेका छैनन्।

साविक विजेता अर्जेन्टिना १६औँ टाइटलको नजिक पुग्दा क्यानडा उसलाई रोक्ने दाउमा रहेको छ। क्यानडाले पहिलो पटक कोपा अमेरिका खेल्दै आफ्नो प्रभावशाली प्रदर्शनले सबैको ध्यान खिचेको छ।

यी दुई टोलीको विजेताले उपाधिका लागि उरुग्वे र कोलम्बियाको विजेतासँग सोमबार बिहान खेल्नेछ। उरुग्वे र कोलम्बियाबीचको खेल भने बिहीबार बिहान हुनेछ।

error: Content is protected !!