सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्।
शपथग्रहण समारोहमा उपस्थिति
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरू, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।
मन्त्रिपरिषद गठन
केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन्। वरीयतामा सिंह अगाडि रहेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पौडेल अर्थमन्त्री बनेका छन्। उनीहरुलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
दुई तिहाइ सांसदको समर्थन
नवनियुक्त प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन्। मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन्।
सत्ता गठबन्धनमा समावेश दलहरू
प्रधानमन्त्री ओलीले सरकारमा नेपाली कांग्रेसका अतिरिक्त जसपा र लोसपालाई सामेल गराएका छन्। यसैगरी जनमत पार्टीलाई सत्ता गठबन्धनले मधेस सरकारको नेतृत्व दिएर आफ्नै पक्षमा राखेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि कम्तीमा १८४ सांसदको समर्थन आवश्यक हुन्छ। अहिलेको गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४ सांसद छन्। यसैगरी जनमत पार्टीको ६ सांसद छन्। यी सबै दलको सांसद योग १८४ हुन्छ। यद्यपि सभामुख मत विभाजन प्रक्रियामा सहभागी हुन पाउने छैनन्।