सोमबार, ०८ पुष २०८१
Search
Close this search box.

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ। काभा महिला भलिबल नेसन्स लिग अन्तर्गत शनिबार भएको लिग चरणको खेलमा नेपालले दक्षिण एसियाली जाइन् भारतलाई ३–२ को सेटमा पराजित गर्दै ऐतिहासिक जित निकालेको हो। महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो।

यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिए पनि जित निकाल्न सकेको थिएन। सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वञ्चित बनेको थियो। त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो। गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि नेपाल भारतसँग पराजित भएको थियो।

खेलको विवरण:

  • पहिलो सेट: नेपालले २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो।
  • दोस्रो सेट: भारतले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई १२–२५ ले पराजित गर्यो।
  • तेस्रो सेट: नेपालले २५–१७ ले जित निकाल्यो।
  • चौथो सेट: प्रतिस्पर्धात्मक सेटमा नेपालले १८–२५ ले गुमायो।
  • पाँचौ सेट (निर्णायक): नेपालले १५–१३ ले जित निकाल्दै ऐतिहासिक विजय हासिल गर्यो।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ। तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ। च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ। शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्।

error: Content is protected !!