
काठमाडौँ , २८ पुस २०८२
काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन्द्र शाह (बालेन) ले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको एउटा छोटो तर अर्थपूर्ण स्टाटसले यतिबेला देशको राजनीतिमा नयाँ हलचल पैदा गरिदिएको छ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला बालेनले लेखेका छन् – “सबैलाई शुभकामना, हामी आउँदैछौँ ।”
मेयर बालेनले राति अबेर गरी पोस्ट गरेको यो स्टाटसलाई धेरैले उनको आगामी चुनावी यात्राको औपचारिक घोषणाका रूपमा लिएका छन्। स्थानीय तहमा आफ्नो पकड जमाइसकेका बालेन अब राष्ट्रिय राजनीतिमा ‘हस्तक्षेप’ गर्ने तयारीमा रहेको सङ्केत यो स्टाटसले दिएको छ। विशेष गरी भदौको ‘जेन-जी’ विद्रोहपछि बालेनको क्रेज देशैभरि फैलिएकाले पनि “हामी आउँदैछौँ” भन्नुले पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिएको बुझिन्छ।