
चुनावी रणनीति तय गर्न एमाले नेतृत्व छलफलमा
काठमाडौं — नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज (शनिबार) बाट सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बस्नेछ।
११औँ राष्ट्रिय महाधिवेशनमार्फत केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि पुस ४ गते पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार आजदेखि पुस २८ गतेसम्मका लागि दोस्रो चरणको केन्द्रीय कमिटी बैठक आयोजना गरिएको हो।
बैठकमा आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी मुख्य एजेन्डाका रूपमा रहनेछ। निर्वाचन रणनीति, संगठन परिचालन, अभियान सञ्चालन र पार्टीको भूमिकाबारे विस्तृत छलफल हुने सचिव अधिकारीले जानकारी दिए।
यसका साथै, बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिनेछ। यस परिषद्मा यसअघि निर्वाचनमा पराजित भएका, अनुभवी तथा हाल कार्यकारी जिम्मेवारीमा नरहेका नेताहरूलाई समेट्ने तयारी गरिएको छ। पार्टीको नीति, रणनीति र दीर्घकालीन दिशाबारे सुझाव लिने उद्देश्यले परिषद् गठन गर्न लागिएको एमालेको भनाइ छ।
एमालेले निर्वाचनलाई लक्षित गर्दै यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरिसकेको छ भने उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन समिति पनि सक्रिय भइसकेको छ।
केन्द्रीय कमिटी बैठकका निर्णयहरूले आगामी निर्वाचनमा एमालेको रणनीति र संगठनात्मक तयारीलाई थप स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ।