संसदको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्। मंगलबार युवा तथा खेलकुद, शिक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र कृषि मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले उच्च शिक्षालाई विशिष्टिकृत गर्न र सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर सुधार गर्न सुझाव दिए।
पौडेलले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउन ढिलाइ नगर्न दबाब दिए। उनले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ।’
सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए। ‘सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न सक्दैन,’ पौडेलले भने, ‘शिक्षालाई सीप, श्रम, र उत्पादनसँग जोड्नुपर्छ। त्यसो नगरेमा खाली पढाइको आधारमा मात्रै देशले प्रगति गर्न सक्दैन।’