कांग्रेसको समर्थनमा बन्न लागेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद्मा को-को जाँदैछन् भन्ने अझै टुंगो लाग्न सकेको छैन तर दुवै पार्टीमा यसबारे चर्चा बाक्लिएको छ। एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल जाने पक्का रहेको पार्टी उच्च नेतृत्वले जानकारी दिएको छ।
पार्टी स्रोतका अनुसार, चुनाव जितेका सांसद हुनुपर्ने र अहिले देखिएको संकट टार्न भूमिका खेल्न सक्ने नेता नै मन्त्री बन्ने मापदण्ड बनाइएको छ। यस सन्दर्भमा, एमालेबाट पौडेल निर्विकल्प रहेका छन्। पार्टीले व्यक्तिका बारेमा औपचारिक निर्णय नगरे पनि अध्यक्ष केपी ओलीले अनौपचारिक तयारी र परामर्श गरिरहेका छन्।
पौडेललाई यसअघि एमाले-माओवादी गठबन्धनमा पठाउन खोजिए पनि उनी तयार भएका थिएनन्। यसअघि ओलीकै मन्त्रिपरिषद्मा ०७७ असोजमा पौडेल अर्थमन्त्री बनेका थिए। ०७९ को आम चुनावलगत्तै प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्मा उनी फेरि अर्थमन्त्री थिए। कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए।