शनिबार, ०६ वैशाख २०८२
Search
Close this search box.

मदिरा सेवनले वार्षिक करिब ३० लाख मानिसको मृत्यु: डब्ल्युएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले मङ्गलबार जारी गरेको प्रतिवेदन अनुसार, मदिराको सेवनका कारण प्रत्येक वर्ष करिब ३० लाख मानिसको मृत्यु हुने गरेको छ। हालैका वर्षहरूमा यो मृत्युदरमा केही कमी आए पनि सङ्गठनका अनुसार यो संख्या अझै पनि अस्वीकार्यरूपमा उच्च छ।

डब्ल्युएचओको प्रतिवेदनमा मदिरा सेवनले सवारी दुर्घटना, हिंसा, दुर्व्यवहार, र विभिन्न रोगहरूको कारणले वैश्विक स्तरमा प्रत्येक वर्ष २० मृत्युमा करिब एक जनाको मृत्यु हुने बताइएको छ। सन् २०१९ मा २६ लाख मानिसको मृत्यु मदिरा सेवनका कारण भएको थियो, जुन सो वर्ष विश्वभर भएका सबै मृत्युको ४.७ प्रतिशत हो। यीमध्ये करिब तीन–चौथाई पुरुषहरूको मृत्यु भएको थियो।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले मादक पदार्थको प्रयोगले व्यक्तिगत स्वास्थ्यमा गम्भीर क्षति पुर्याउने, दीर्घकालीन रोग र मानसिक स्वास्थ्य समस्या उत्पन्न गर्ने बताउँदै, यसका कारण हरेक वर्ष लाखौँ मानिसको मृत्यु हुने जसलाई रोक्न सकिने बताए। उनले भने, “युवाहरू असमानरूपमा प्रभावित भएका छन्, तर मदिराको प्रयोगका कारण स्वास्थ्य र सामाजिक बोझ अस्वीकार्यरूपमा उच्च बनेको छ।”

सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको छ। मदिरा सेवनले कलेजो सिरोसिस, क्यान्सर, हृदयरोग, र सवारी दुर्घटनामा मृत्यु हुनेहरूको संख्या बढाएको छ। प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी, र निमोनियाजस्ता सङ्क्रामक रोगप्रति संवेदनशील बनाउने औँल्याएको छ।

सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए, जुन विश्व जनसङ्ख्याको ३.७ प्रतिशत हो। विश्वभरमा प्रतिव्यक्ति मदिराको कूल खपत सन् २०१० को ५.७ लिटरबाट घटेर सन् २०१९ मा ५.५ लिटरमा आएको छ।

युरोपमा प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर ९.२ लिटर रहेको छ, जसपछि अमेरिकामा ७.५ लिटर छ। उत्तरी अफ्रिका, मध्यपूर्व, र एसियाका मुस्लिम मुलुकहरूमा सबैभन्दा कम मदिरा खपत रहेको प्रतिवेदनले देखाएको छ।

error: Content is protected !!