चितवनको कालिका नगरपालिकास्थित एक सुनचाँदी पसलमा लुटपाट भएको छ। कालिका नगरपालिका–६, खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसलमा गएराति यो घटना भएको हो।
राति पसल बन्द गर्न सामान थन्क्याउने क्रममा मोटरसाइकलमा आएका दुई जनाको समूहले खुकुरी र चक्कु देखाइ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज अर्यालले जानकारी दिए। उनका अनुसार, लुटेराहरूले तीन मिनेटभित्र नै लुटपाट गरेर पसलमा रहेको सीसीटीभी क्यामेराको हार्ड डिस्क पनि लगेका छन्।
पसल सञ्चालकका अनुसार, लुटेराहरूले ३ किलो सुन, ३५ किलो चाँदी र २ लाख नगद लुटेका छन्। त्यसमध्ये ७७६ ग्राम सुन भने पसलमै फेला परेको छ। लुटेराहरूले चक्कु र खुकुरी पसलमै छोडेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको अर्यालले जानकारी दिए।