आजबाट दुई नेपाली फिल्म ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’ प्रदर्शनमा आएका छन्। फरक कथामा आधारित यी दुवै फिल्मले मल्टीप्लेक्स र सिंगल स्क्रिनमा राम्रो शो पाएका छन्। नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ ले गाउँमा गाडी आएपछि परम्परागत पेसामा आएको संकटको कथा बाउ–छोराको मार्मिक सम्बन्धमार्फत प्रस्तुत गरेको छ। दयाहाङ राईको मुख्य भूमिका रहेको यो फिल्मले ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ३८ शोज पाएको छ। घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ ले नेपाली डायस्पोराको ट्राभल लभस्टोरी प्रस्तुत गरेको छ। यी दुवै फिल्मले पहिलो दिन शुक्रवार देशभर डेढ सय हाराहारी शो पाएका छन्। दर्शकको प्रतिक्रिया अनुसार फिल्मको भविष्य निर्धारण हुनेछ।