सहकारी संस्था बचत रकम दुरुपयोगको छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले जेलमा रहेका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन्। बुधबार सहकारी पीडितहरूसँगको छलफलमा सभापति थापाले कानूनअनुसार जेलमा रहेका सहकारी सञ्चालकहरूसँग सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताएका हुन्।
थापाले विदेशमा भागेर बसेका सहकारी ठगहरूलाई नेपाल ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताएका छन्। उनले सरकार र संसदको काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउनको लागि काम गर्ने बताएका छन्। “जेलमा रहेका सहकारी सञ्चालकहरूसँग पनि कानूनअनुसार रहेर सोधपुछ गर्छौं। विदेशमा भागेर बसेकाहरुलाई पनि नेपाल ल्याउन प्रधानमन्त्रीलाई भन्छौँ,” उनले भने, “सरकार र संसदको काम गर्ने तरिका फरक हुन्छ, त्यो देखाउँछौँ।”
समितिले वास्तविकतामा आधारित भएर काम गर्ने बताउँदै थापाले सरकारको तर्फबाट भएका लुप होलहरू पनि खोजिरहेको बताए। उनले गृह प्रशासन र प्रहरीलाई बोलाएर सहकारी ठगहरूलाई नेपाल ल्याउने कानूनी प्रवन्धका बारेमा जानकारी लिएको बताए।
थापाले सहकारी क्षेत्रमा देखिएको समस्या वास्तविक सहकारीहरूको कारणले नभई, केही सहकारीहरूको ठगी नियतका कारण आएको बताए। “सहकारी क्षेत्रमा देखिएको समस्या वास्तविक सहकारीहरूको कारणले होइन, सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीहरूको कारणले समस्या आएको छ,” उनले भने।
थापाले चितवनमा एउटै व्यक्ति कोषाध्यक्ष, पोखरामा अध्यक्ष, र नेपालगञ्जमा उपाध्यक्ष तथा ऋण समितिको सदस्य बन्ने विषयलाई समितिले गम्भीर रूपमा अध्ययन गरिरहेको बताए। समितिले राज्यका निकायहरूको लापरबाहीबारे पनि हेरेको जानकारी गराउँदै उनले सहकारी ठगी रोक्न आवश्यक कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।